काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी गराए । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा साेमबार प्रधानमन्त्रीको उपस्थितिमा विस्फोट गराएर छिचोल्ने काम भएको उनले जनाए ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै अर्थात् दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलिसकिएको छ ।
मुख्य सुरुङ आज छिचोलिए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले जनाए। सुरुङ सञ्चालनमा आएपछि काठमाण्डौको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । अहिले काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिनेमा अब सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने दुई किलोमिटर छ सय ८८ मिटरको दूरी तीन मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।
२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको छ अर्ब रुपैयाँ लगानी छ ।