काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार बेलुकी विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कुटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्नको लागि आह्वान गरेको हो ।
परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । हामी यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताको वृद्धिप्रति गम्भीर रूपमा चिन्तित छौं ।’
नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्दछ र बल प्रयोगको विपक्षमा रहेको पनि उल्लेख गरेको छ । इरानले इजरायलमा शनिबार राति ड्रोन आक्रमण गरेपछि त्यस पश्चिम एसियामा थप तनाव बढेको हो ।