काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको जनाएका छन्। यो आक्रमणलाई नेपालका राजनीतिक दलहरूले मात्रै निष्तेज पार्न सक्ने उनको भनाइ छ।
नयाँ वर्षको शुभकामना दिँदै शनिबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ। राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु हुँदैन।’
उनले राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नभएको चेतावनी पनि दिएका छन्।
‘हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ’, उनको भनाइ छ, ‘यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जानेछ। संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ।’