काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएका छन्।
बुधबार हुने निर्वाचनका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले आज उम्मेदवारी दर्ता गराएका हुन्।
पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन्। उनले राष्ट्रियसभामा भाषणभन्दा बढी काम गर्नुपर्ने बताइन्। आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको उनकाे भनाइ छ।
उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रियसभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन्। उनले राष्ट्रियसभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने पनि बताइन्।
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ।


