काठमाडाैं । सरकारले स्थानीय तहको रकम निकाल्दा ती तहमा रहेर काम गर्न बैंकहरूलाई समस्या परेको नेपाल बैंकर संघले जनाएको छ।
‘हामीले स्थानीय तहहरूमा शाखा खोल्दा सरकारले स्थानीय तहको रकम बिना ब्याजमा निक्षेप राख्न दिने बचन दिएका थियौ,’ संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘अहिले सरकारले यस्तो रकम बैंकबाट निकालेको छ, कतिपय तहमा खासै कारोबार नहुने भएकोले बैंकलाई समस्या परेको छ।’
सरकारले गत साता बैंकहरूबाट यस्तो एक खर्ब रकम निकालेको उनले जनाए। सरकारले यसरी निक्षेप झिक्दा पनि बैंकहरूमा लगानीयोग्य पुँजी ५ खर्ब माथि नै रहेको उनले जानकारी दिए।
अहिले बैंकहरूमा १९ अर्ब बराबर गैर बैंकिङ सम्पत्ति रहेकोले सरकारले जग्गामा लाग्ने हदबन्दी बैंकहरूलाई नलाग्ने व्यवस्था गर्नुपर्ने पनि उनले जनाए । खराब कर्जा बढ्दै गर्दा बैंकहरूले केही समय धितो सकार्नु पर्दा हदबन्दीले समस्या परिरहेको बैंकरहरू जनाउँछन्। बैंकरहरूले लगानी गरिसकेको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत सरकारबाट १२ अर्ब नपाएको समेत केसीले जनाए।