सुनसरी । दुई धार्मिक समुदायबीचको विवादले आज बिहानदेखि अशान्त रहेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।
दिउँसो १ बजेपछि शुरु तनाव दोहोरो झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भएपनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ ।
प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
अश्रुग्यास र हवाई फायर के(कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताएका छन् । अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको उनले जानकारी गराएका छन् ।
यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालिन बैठक बसेको छ । दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन आग्रह गर्दै आवश्यक पहलका लागि सरोकारवाला समक्ष आग्रह गरेको छ ।
कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका डीआइजी समेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ । जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ ।
दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजार सँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको हो । यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ । आवश्यक्ता अनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्नसक्ने जनाएको छ ।
भुटाहामा हिजो हिन्दु युवामाथि मुस्लिम समूहले कुटपिट गरेको थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।
मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।
घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरेपनि बिरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ ।