दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजनीनामा दिएका हुन्।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन्।
गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए।
८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपाका ३, लोसपाका ३, जनमतका ३, जनमोर्चाका १ जना प्रदेशसभा सदस्य छन्।
मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछि पनि बहुमत पुर्याउन सक्ने अवस्था थिएन। कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन्।
नयाँ राजनीतिक समीकरणको आधारमा एमालेका २९, माओवादी सभामुखबाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।
लुम्बिनीमा माओवादीले सरकार बनाउने गरी दलहरुसँग छलफल अघि बढाएको छ। संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन्।