काठमाडौं । गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउनुभयो । डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।
डाक्टर दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए । उनकाअनुसार डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ, ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी लाग्दछ ।