काठमाडौं । पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको जनाएका छन्।
मंगलबार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको जनाए।
उनले अहिले आफूले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे। उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भई र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको जनाए।
समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान सकिने बताए। उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको जनाए।
उनले संविधानलाई बढीभन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको उल्लेख गरे।
उनले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।
उनले भने,‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि विल्कुल होइन। यो कुरा सबैले बुझ्ने नै कुरा छ। यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौती देख्दादेख्दै पनि चालिएको कदम हो। यसका विरुद्ध एउटा तप्का निकै नै विक्षिप्त भएको देखिन्छ। तर, पनि जनता र राष्ट्रको पक्षमा यो कदमले अन्ततः जनतालाई डेलिभरी दिँदै जाँदा सबैले बुझ्ने गरी स्थापित हुन्छ। संविधानको पनि यहाँ धेरै कुराहरु भए। यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ। यो सम्झौताकै दस्ताबेज हो।’