काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको जनाएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं-सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् ।
तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले जनाइन् ।
‘संसदीय छानबिन समितिसँग डराउनुपर्ने छैन । जहाँ सत्तापक्ष पनि त हुनुहुन्छ । यसमा डराउनु भनेको त्यहाँभित्र केही छ भन्ने बुझ्नपर्छ’ उनले भनिन्, ‘होइन भने यसलाई सहजतापूर्वक स्वीकार गरौं । छानबिनपछि आरोप हो वा होइन भन्ने पुष्टि हुन्छ । त्यसकारण यसमा डराउनुपर्दैन ।’