काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योग नै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रूपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरूको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाइ थियो।
उनले नेपालको ट्रक भारतमा निर्वाध रुपमा संचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसावले राष्ट्रको हितमा नभएको जिकिर गरे।
भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरू मारमा परेको र उनीहरूको रोजगारीसमेत खोसिएकोप्रति सरकार गम्भिर नभएको सांसद पन्तको आरोपसमेत लगाए।
सांसद पन्तले भने, ‘नेपालको ढुवानी क्षेत्र अप्ठ्यारोमा परेको छ। र यो खतरामा पर्नुमा मुल कुरा भारतीय ट्रकमाथि हामीले नियमन गर्न नसक्दाको हो। जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ। त्यस्तै छुट भारतमा पनि हामीले पाउनुपर्याे। हाम्रा ट्रकहरू पनि भारतमा निर्वाध रुपमा गएर समान ल्याउन र लैजान पनि पाउनुपर्याे। यो आज मात्र आएको समस्या होइन। यसअघि पटकपटक बनेका सरकारले ध्यान दिएन। तर अब यो समस्या एकदम जटिल भइसक्यो। यसले राष्ट्रिय उद्योगमा नै समस्या खडा गर्ने अवस्था आइसक्यो। नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस्।’
उनले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने पनि आवश्यकता औंल्याए।