काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्।
समसामियक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले देउवा र ओलीलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ। उनीहरूबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ।
यससँगै संसद्लाई सञ्चालन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर कांग्रेसले संसद्मा विरोध जनाउँदै आएको छ। सहकारीका बचतकर्ताको रकम हिनामिनामा मुछिएका लामिछाने गृहमन्त्री हुँदा छानबिन प्रक्रिया प्रभावित हुने कांग्रेसको भनाइ छ।
गृहमन्त्री लामिछाने जोडिएको सहकारीको छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने कांग्रेसको माग छ। माग पूरा नभए संसद् अवरुद्ध पार्ने कांग्रेसले चेतावनी दिएको छ। प्रतिनिधि सभाको बैठक आइतबारबस्दै छ।
यसअघि बिहीबार प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग छुट्टै छलफल गरेका थिए।