काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइन पराजित भएको छ।
रिफ्फास्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको हो।
नेपालले पहिलो हाफमै ३ गोल खाएको थियो। थप २ गोल भने दोस्रो हाफमा खायो। बहराइनका माहदी हुमैदान, सायद बकेर, अली मदान, इब्राहिम अल-खताल र अब्दुल लतिफले गोल गरे।
खेलको दोस्रो मिनेटमै माहदी हुमैदानले बहराइनलाई शुरूआती अग्रता दिलाए। त्यसको ७ मिनेटपछि नै सायद बकेरले बहराइनको अग्रता दोब्बर बनाए।
खेलको १६औँ मिनेटमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते भए। उनको स्थान दिनेश हेम्जन मैदान प्रवेश गरेका थिए।
पहिलो हाफमा थप गरिएको ४ मिनेटमा अली मदानले गोल गर्दै बहराइनलाई सहज जितको बाटोतर्फ डोर्याए।
८७औँ मिनेटमा इब्राहिम अल-खतालले गोल गरे। दोस्रो हाफमा थप गरिएको समयको छैटौँ मिनेटमा अब्दुल लतिफले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ५-० को हार चखाए।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो।
तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेलेको हो। यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ। नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गरेको हो।
बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको थियो।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो।
यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ।
यूएईसँग २-० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ६ अंक छ। बहराइनले यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो। यमन ३ खेलमा ३ अंकसहित तालिकामा तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ।