जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भमा सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
“सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?” भन्दै २०८० चैत ८ गते बिहान शान्ति समाजका काठमाण्डौ शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रदर्शन गरेका छन् । यसैगरी सुर्खेत शाखाले वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै यो दिवस विश्वव्यापी रुपमा मनाउने गरिएको छ भने सन् १९६६ मा राष्ट्रसंघ महासभाले सबै प्रकारका जातीय विभेद अन्त्यका लागि आफ्नो प्रयास दोब्बर गर्न आह्वान गरेको थियो ।
यसैगरी शान्ति समाजले काभ्रे जिल्ला चौंरिदेउराली गाउँपालिकास्थित बच्छेस्वरि प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई रु ४५ हजारको सहयोग (स्टेसनरी सामग्री) गरेको छ । शान्ति समाजका सभापति रामकृष्ण बराल, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेलसहितले २०८० चैत ७ गते उक्त विद्यालयमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।