–निमकान्त पाण्डे
केन्द्रमा वामपन्थी र अन्य दलहरु मिलेर नयाँ गठबन्धन भएपछि अब वाम पार्टीहरुबीच एकताको चर्चा सुरु भएको छ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले भने यो एकतालाई खारेज गरेको छ । यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि वामपन्र्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १० औं महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो ।
देशमा वामपन्थी दलहरुबीच सहकार्य र एकताको लहर आउनु आफैंमा सकारात्मक विषय हो । तर, विगतका वाम एकता र विभाजनका नजिरलाई भने नजरअन्दाज गर्न सकिँदैन । त्यसैले यस्ता सहकार्य वा एकता वर्तमानकालमा सत्तारोहण लगायत स्वार्थका लागि हो कि नेपालमा अधुरै रहेको कम्युनिस्ट आन्दोलनका लागि हो, यसमा भने नेताहरु स्पष्ट हुन जरुरी छ । नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन ।
अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ ।
विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल भने खस्किँदै गएको छ । कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् । यसले सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ ।
त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको एकता अत्यावश्यक देखिएको छ । यसले नेपाली कम्युनिस्ट पार्टीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ ।
विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् ।
एक वर्षयता कांग्रेससँगको ‘अप्राकृतिक गठबन्धन’का कारण सरकारको नेतृत्व गरिरहेका प्रचण्ड तथा समग्र माओवादी केन्द्र पार्टीको नै आलोचना हुँदै आएको थियो । त्यो गठबन्धनले न संकटग्रस्त अर्थतन्त्र सुधार्न कुनै उपाय निकाल्न सक्यो न देश र जनताको समस्या समाधानमा कुनै उपलब्धि नै हात पार्न सक्यो । चौतर्फी आलोचनाका बीच प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनका लागि नयाँ सत्ता समीकरणको हिम्मत जुटाएका छन् तर उनको सरकारलाई यो अवसरसँगै ठूलो चुनौती पनि बनेको छ । वाम एकता वा गठबन्धनले सरकारलाई ती चुनौती सामना गर्न शक्ति दिनेछ । जनधारणा साप्ताहिक