काठमाडौं / गत वर्ष पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा एमालेको साथ थियो । त्यतिबेला सत्ता गठबन्धनमा एमाले र माओवादीसँगै रास्वपा, राप्रपालगायत दल थिए । तर, राष्ट्रपति चुनावमा भने प्रचण्डले एमालेको साथ छोडे । फलस्वरुप कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । तर, त्यतिबेला कांग्रेससँग बनाएको गठबन्धन माओवादीले फेरि एक पटक भत्काएको छ ।
गत फागुन २१ मा नयाँ सत्ता गठबन्धनको घोषणा भएको छ । गत वर्षको पुस १० कै यो गठबन्धनमा यसपटक भने राप्रपा सहभागी छैन । प्रधानमन्त्री प्रचण्ड एकाएक कांग्रेससँग किन रिसाए त ? यसको कारण खोजीमा अहिले कांग्रेस सभापति शेरबहादुर देउवा लागेका छन् ।
गत माघ २९ मा प्रचण्डले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे पुनर्विचारको अवस्था आउने धारणा राखेका थिए । यसको कारण थियो, कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस महासमितिमा अबका कुनै पनि चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दस्तावेज ल्याएका थिए, जसलाई केन्द्रीय समितिबाट संशोधन गर्नेगरी पारित गरिएको थियो ।
कांग्रेस उपसभापति, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि माओवादी जनयुद्धलाई हिंसात्मक घटना भनेर प्रतिवेदनमा उल्लेख गरे । कांग्रेस महासमितिमा हिन्दूराष्ट्रको विषय पनि अघि आयो । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत, रक्षामन्त्री खड्का र स्वास्थ्यमन्त्री मोहन बस्नेतप्रति पनि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । यी तीनै मन्त्री कांग्रेसका हुन् । तर, देउवा भने यी मन्त्रीलाई हटाउन चाहँदैन थिए । अर्कोतर्फ राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो उम्मेदवार चम्पादेवी कार्कीको पराजयले पनि माओवादी केही अघिदेखि असन्तुष्ट थियो । कांग्रेसको शेखर कोइराला पक्षले सहयोग नगरेका कारण आफ्नो उम्मेदवार हारेको माओवादीको भनाइ थियो । यही विषयको विवादको बीजारोपणले कांग्रेस–माओवादीको गठबन्धनमा फाटो देखिन थालेको थियो ।
यस्तै, राष्ट्रिय सभा अध्यक्षमा पनि दुई दलबीच फरक दाबी देखियो । कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याएको र देउवा र प्रचण्डबीच यसबारे अनौपचारिक सहमति भइसकेको पनि कांग्रेस नेताहरुले बताए । तर, माओवादी नेताहरुले भने यस विषयमा कुराकानी चले पनि कुनै सम्झौता नभएको दाबी गरे । अहिले राष्ट्रिय सभा अध्यक्ष छोड्दा र पछि सरकारै छोड्दा महत्वपूर्ण पदमा माओवादीको कोही पनि नहुने पीर माओवादीलाई थियो । त्यसैले संवैधानिक परिषदको सदस्य हुने राष्ट्रिय सभा अध्यक्ष पदका लागि माओवादीले आफ्नो दाबेदारी पेस गरेको थियो । यसले पनि गठबन्धनमा दरार देखियो ।
हालै एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको जनाएका छन् । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं,’ प्रधानमन्त्रीको भनाइ थियो ।
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले जनाए । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।
प्रचण्डले भनेजस्तै अहिले वामपन्थी दलबीच सुमधुर सम्बन्ध बढेको छ । माओवादी, एमाले र नेकपा एकीकृत समाजवादीका नेताबीच आगामी राजनीतिक यात्राबाट छलफल, बैठक जारी छन् । एमाले र माओवादी नेताले पालैपालो सरकारको नेतृत्व लिने सहमति गरेका छन् भने यसमा नेकपा एसका माधवकुमार नेपाल पनि आलोपालो अनुसार आफू पनि प्रधानमन्त्री बन्न पाउने लबिइङमा छन् । तर, सत्ताबाट बाहिरिनुपरेको कारण कांग्रेसमा भने छटपटी बढेको छ । यसका लागि कहिले एमाले नेतासँग संवाद बढाउने प्रयास देउवाले थालेका छन् भने सत्तारुढ रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदमा आक्रामक रवैया अपनाइरहेको छ । सरकारलाई अप्ठ्यारोमा पार्ने प्रयासस्वरुप लामिछानेमाथि आक्रामक बनेको कांग्रेसको यतिबेला आलोचना नै बढी भइरहेको छ ।
जनधारणा साप्ताहिकबाट