काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् ।
राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रँदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको जनाइन् ।
सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उनले जनाइन् । घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् । त्यस्तै अर्का सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन माग गरिन् ।
उनले सवारी साधानहरुको अनुगमन गर्दै सडक स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताइन् । त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मा लगाएतले पनि सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।