काठमाडौं । दुग्ध विकास संस्थान डिडिसी ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्य सचिव वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका छन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले विगतका वर्षभन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफामा गएको जनाए । उनले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने दबी गरे ।
डिडिसीले धेरै जनघनत्व भएका क्षेत्रमा बिक्री केन्द्रलाई अभियानकै रुपमा अगाडि बढाउन उनले आग्रह गरे। सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताका लागि बिक्री केन्द्र स्थापना गरिएको जनाए
। सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्तामाझ पुगाउनु रहेको जनाए ।
मुख्य सचिव वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दैजाँदा उपभोक्तालाई सहजता आउने देखिएको जनाए। उनले सिंहदरबारभित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास व्यक्त गरे ।