काठमाडौँ / युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदमा खेलहरूलाई वर्गीकरण गरेर अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता दिलाउने र वर्षौंसम्म एउटै प्रतियोगिता नगर्ने खेल संघहरू एउटै बास्केटमा हुनु हुँदैन । त्यसकारण खेल संघको वर्गीकरण हुनुपर्छ । त्यहीअनुसार सेवासुविधा पाउनुपर्छ । सबैले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र आफ्नो खेल र समग्र खेलकुदको सम्भव हुन्छ ।’
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त विषय उठाएका हुन् । मन्त्री श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि बजेट पर्याप्त त छैन तर अहिले प्राप्त बजेट पनि खर्च गर्नु नसक्नु चाहिँ समस्याको रूपमा आफूले देखेको बताए ।
‘नेपालको खेलकुदको बजेट धेरै न्युन र अपर्याप्त छ । चाहेजस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’ मन्त्री श्रेष्ठले भने, ‘अहिलो प्राप्त एक प्रतिशतभन्दा कम आएको बजेट पनि खर्च गर्न सकिएको छैन । त्यसैले योचाहिँ समस्या हो । यसलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसतर्फ मेरो प्रयास हुनेछ ।’
मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालय रोज्नुको कारण प्रस्ट्याउँदै भने, ‘देशभित्र राष्ट्रिय एकतामा कमी आइरहेको अवस्था छ, मैलेचाहिँ खेलकुद क्षेत्र एउटा बलियो माध्यम रहेकाले देखेर यो मन्त्रालय रोजें ।’
नेपाली खेलकुदका सरोकारवाला निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच आ–आफ्नै परिधिमा बाँधिएकाले नेपाली खेलकुद विकासले गति लिन नसकेको मन्त्री श्रेष्ठले बताए ।