नारद कोहार
तौलिहवा(कपिलवस्तु) । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको टोलिद्वारा अनुगमन तथा निरीक्षण गरिएको छ । यूनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाले सन् २०१४ देखि तिलौराकोटमा गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट के के उपलब्धी भयो भन्ने उद्देश्यले अनुगमन तथा निरीक्षण गरिएको हो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल प्राचिन तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोटमा भएको उत्खनन् एवम् अन्वेषणले अहिलेसम्मको उपलब्धी र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न आधारभूत आवश्यकताहरु बारेमा जानकारी लिन निरीक्षण गरिएको बताउनुभयो । अनुगमन तथा निरीक्षणले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले नेपाल सरकारका तर्फबाट तिलौराकोटलाई सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिएको र विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रक्रियामा रहेको बताउनुभयो । साथै लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बैज्ञानिक समितिको बैठकमा व्यवस्थापन र संरक्षण तथा चुनौतीहरुलाई कसरी व्यवस्थापन गर्न सकिने लगायतको विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।
सो अवसरमा जापानिज फन्ड इन ट्रस्टका टिम लिडर प्रा.डा. युकियो निसिमुरा, विश्व सम्पदा केन्द्रका संयोजक प्रोफेसर रोल्याण्ड लिन, संरक्षण विज्ञ कन्स्ट्यान्टिभ म्युची, सम्पदा व्यवस्थापन विज्ञ काई वाई जे, पुरातत्वविद् बसन्त विडारी, लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको सहभागीता रहेको छ । तिलौराकोट बुद्धले आफ्नो जिवनको २९ वर्ष विताएको ठाँउ एवम् राजा शुद्धोधनको राजदरवार हो ।