काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले सम्वद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गरे। उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प गरे।
उनले पोखराको सांस्कृति र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने जनाए।
उनले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने जनाए । उनले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगरलगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्याउन पहल गर्ने जनाए ।
पोखराको पर्यटन प्रवर्द्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अलम्वन गर्ने बारेमा पनि सचेत रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जवाफदेही तथा क्षमता विकासलाई योजनावद्ध रुपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गरे। पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रुपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने जनाए ।