काठमाडौं । बचत रकम फिर्ता गराइदिन माग गर्दै काठमाडौंको प्रदर्शनीमार्गमा अनसन बसेका दुई जना सहकारीपीडितलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले प्रदर्शनीमार्गस्थित सडकमै अनसन बस्न बसेका दुई जनालाई पक्राउ गर्नुका साथै अन्यलाई तितरवितर पारेको छ।
प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै उनीहरुले बिहीबार रातभर सडकमै अनसन बस्ने घोषणा गरेका थिए। अपराह्न प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
सहकारीपीडित सहकारी विभाग जान खोज्दा सुरक्षाकर्मीहरुसँग झडप भएको थियो। सहकारीपीडितले सरकारबाट न्यायको आशा मरेको गुनासो पनि गरेका छन्।
‘सहकारीका दोषी नै गृहमन्त्री छन्, हामीले के न्यायको आशा राख्ने?’ एक प्रदर्शनकारीले भने। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारी अपचलनको आरोप लागेको छ।
विरोध कार्यक्रम राजधानीका विभिन्न भागबाट र्यालीसहित भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो। कालिमाटी, गोंगबु, शंखपार्क, सिफल चौर, जावलाखेललगायत ठाउँबाट उनीहरुले र्याली निकालेका थिए।