नेपालको राजनीतिक इतिहासमा फेरि एकपटक नयाँ घटनाको रुपमा नयाँ सत्ता समीकरण बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सात दलीय गठबन्धन त्यागेर एमाले, रास्वपा, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाएका हुन् । यसले राजनीतिक वृत्त तरल बनेको छ भने आगामी सरकार निर्माण र यसका कामका बारेमा विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, यो गठबन्धनले नेपालको अस्थिर राजनीतिलाई फेरि एकपटक पुनरावृत्ति गरिदिएको छ ।
लामो समयदेखि नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन, निर्वाचनपछिका सरकारले आफ्नो कार्यकाल पूरा गर्न नभई भंग हुने गरेका छन् । कम्युनिस्ट दलबीच कहिले सहकार्य तथा कहिले पानी बाराबारको स्थिति हुने गरेको छ । यस्तो स्थितिमा कांग्रेसले कम्युनिस्ट दलहरुसँग मिलेर सरकार बनाउने गरिरहेको छ । तर, राजनीतिक अस्थिरताका कारण जनजीविकाका मुद्दा भने ओझेलमा परेको छ । मुलुकमा आर्थिक संकट रहँदा विकास निर्माण, उत्पादन, रोजगारी सृजना आधारभूत विषयमा काम हुन सकेको छैन । त्यहीकारण राजनीतिक उथलपुथल पार्टी र निश्चित व्यक्तिका लागि लाभ र हानिको विषय भइरहँदा देश र जनताका लागि भने सधैं हानिको विषय बनिरहेको छ ।
राजनीतिमा देखिने नयाँ नयाँ गठबन्धन स्थायी नहुनु र यसले देश तथा जनताको पक्षमा कुनै काम नगर्नुको चिन्ताको विषय हो । त्यही कारण अहिले माओवादी, एमाले, रास्वपा र जसपालगायत दलबहरुबीचको नयाँ गठबन्धन पनि कति समयसम्म टिक्ट र यो देश र जनताकेन्द्रित कति हुनसक्छ भन्ने अहं सवाल हो । अहिले सीमित दल सत्तामा पुग्न गठबन्धन गरिएका हो भने पुरानो र नयाँ गठबन्धनबीच कुनै अन्तर नरहने स्पष्ट छ ।
यसबीचमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भने आफू नमर्दासम्म नेपालको राजनीतिमा उथलपुथल भइरहने सार्वजनिक कार्यक्रममा जनाएका छन् । प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको जनाए । उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको र निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने उल्लेख गरे । प्रचण्डले भनेजस्तै माओवादी पार्टी नेपाली राजनीतिको उथलपुथलको कारण बनिरहेको छ । त्यो पार्टीलाई साढे ३ दशकदेखि नेतृत्व गरिरहेकाले प्रचण्डले पनि यसको जिम्मेवारी लिन पर्छ । ५० को दशका राजनीतिक परिवर्तनका लागि हतियार उठाएको माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न गठबन्धनबाट पटकपटक सरकारमा सहभागी भएको छ । गठबन्धन बन्ने र भत्किने विषयमा माओवादीको भूमिका पनि उत्तिकै छ । तर, यस्तो उथलपुथल देश र जनताको हितमा केन्द्रित हुन सकेको र राजनीतिक दाउपेच र अस्थिरताको कारण बनिरहेको विषयमा भने प्रचण्डले चिन्ता लिनुपर्ने देखिन्छ । प्रचण्डका आगामी कदमहरुले पक्कै पनि देशको भविष्य कस्तो हुने भन्ने निर्धारण गर्नेछ । त्यसैले पनि उनले आफ्ना पाइलाहरुलाई बडो सोचविचारका साथ सार्नुपर्ने देखिन्छ । नत्र भने प्रचण्डले भनेजस्तै उनी नमर्दासम्मको राजनीतिक उथलपुथल त होला, तर यसलाई जनताले धिक्कार्ने अवस्था आउन सक्छ ।जनधारणा साप्ताहिक