काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको जनाए । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।
संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो ।
‘हामीलाई निस्किन नदिएपछि उहाँहरुको नेतृत्वमा गएको टोलीले छुट्टै प्रदर्शन गर्ने भन्ने थियो’, उनले भने, ‘तर, प्रहरीले प्रदर्शन गर्नुअघि नै पक्राउ ग¥यो ।’ मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ । मन्त्रालयबाट सरकारी वार्ता टोलीको नेतृत्व शान्ति सुरक्षा महाशाखका प्रमुख सहसचिव नारायणप्रसाद भट्टराईले गरेका छन् ।