कायरो – प्यालेस्टाइनको विद्रोही समूह हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार कायरो आइपुगेको छ।
आधिकारिक सुरक्षा स्रोतले जनाएअनुसार हमासका उपप्रमुख खलिल अल–हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता सुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम नछाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ।
अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउनेलगायतका विषय समावेश हुनेछन्।
यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गर्दा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो। यस्तै, हमासले २०० जनाभन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्। रासस/सिन्ह्वा