पोखरा / कास्की प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो २ फरक स्थानबाट उनीहरु पक्राउ परेका हुन्।
पोखरा महानगरपालिका–१९ गैह्रीखोरबाट सोही स्थानका ३८ वर्षीय चन्द्राबहादुर गुरुङ र भण्डारढिकका ३६ वर्षीय सुजित गुरुङ पक्राउ परेका छन्।
उनीहरुको कोठामा खानतलास गर्दा डाइजापाम, फेनेरागन र नुर्फिन २९/२९ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। लागुऔषध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले ७ दिने म्याद दिएको छ।
यस्तै, पोखरा–२० भलामबाट सन्तोषबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट डाइजापाम ३० एम्पुल, फेनेरागन र नुर्फिन १०/१० थान बरामद गरेको छ। नेपालीलाई जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।