काठमाडौँ / नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका छन्।
आईसीसी विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियासँग हारपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताए।
उनले करिब ४५ मिनेटजति आफ्ना ब्याटरले धैर्यता राखेको भए पनि अवस्था फरक हुने उल्लेख गर्दै नामिबियाका बलरको पनि बलिङ तारिफयोग्य रहेको उल्लेख गरे।
नामिबियाका बलरले पिचको कन्डिसनलाई राम्रोसँग प्रयोग गरेकाले सफलता पाएको रोहितको भनाइ छ।
उनले तल्लो क्रमसम्म आफ्ना ब्याटर रहे पनि ब्याटिङ युनिटले पाएका अवसरलाई सदुपयोग गर्न नसकिएको धारणा राखे। राम्रो साझेदारी बनेपछि पनि त्यसलाई राम्रो स्थितिमा पनि पुर्याउन नसक्नुले पनि ब्याटिङमा समस्या बनेको उल्लेख गरे।
एकदिवसीय क्रिकेटमा शीर्ष ४/५ ब्याटर महत्वपूर्ण रहने भएकाले उनीहरू छिट्टै पभेलियन फर्किंदा समस्या भएको उनल बताए।
नेपालका प्रशिक्षक मोन्टी देसाईले यो हारलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सुरुमा दबाब झेल्न नसक्दा समस्या भएको बताए। उनले खेलको अवस्था र पिच कन्डिसनलाई खेलाडीले राम्रोसँग बुझ्न नसकेको पनि धारणा राखे। त्यस कारण पनि सुरुमा नै खेलमा पछि परेको उनको बुझाइ छ। यद्यपि, यसबारे अब टोलीले काम गर्ने योजना पनि प्रशिक्षक देसाईले सुनाए।
नामिबियाका कप्तान जेरार्ड इरास्मसले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्न सकिएको उल्लेख गर्दै टस जित्नु पनि आफूहरूका लागि केही फाइदा मिलेको बताए। नेपाललाई १३२ रनमा रोक्नु नै सबैभन्दा ठूलो सफलता रहेको उनको भनाइ थियो।