सिमकोट । सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले प्रजातन्त्र दिवस फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान गर्ने भएको छ।
नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो। नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले उडान भर्न लागेको हो। सो उडान नियमित उडान तालिकाअनुसार हुनेछ। उक्त दिन नेपालगञ्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्नेछ भने सुर्खेतबाट पनि सिमकोटका लागि यात्रु उडान भर्ने तालिका तयारी गरिएको छ।
भाडा दर पनि एक/दुई दिनमा तय गरिने भएको छ। यो कर्णाली प्रदेशमा नेपाल एयरलाइन्सले कर्णालीदेखि कर्णालीकै जिल्लामा पहिलो पटक उडान भर्न लागेको हो।
यसका लागि सबै तयारी भएको छ। परीक्षण उडानपछि भने नेपाल एयरलाइन्सले सुर्खेतबाटै कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्नेछ। नेपाल एयरलाइन्सको उक्त कार्यलाई कर्णालीका बासिन्दालाई आफ्ना प्रदेशमा हवाई यात्रा गर्न सहज हुनेछ। यसका लागि कर्णाली प्रदेश सरकार र नेपाल एयरलाइन्सबीच केही समय अगाडिदेखि समन्वय हुँदै आएको थियो।