काठमाडौं । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ । आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ ।
वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् । वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।
विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ । आज काठमाडौंको स्वयम्भूनाथमा अभिभावकले बालबालिकालाई अक्षर लेख्न सिकाएका छन् ।