काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महेश्वर दाहालले आफ्नो समूहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने लिखित धारण राखेका छन् ।
बुधबार भएको समूहगत छलफलमा केन्द्रीय सदस्य दाहालले सबै वामपन्थी शक्ति र व्यक्तिहरूसँग एकताका लागि पहल अघि बढाउन प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड अधिकतम लचिलो बनेर जान तयार हुनुपर्ने र त्यसको लागि प्रधानमन्त्रीबाट राजीनामा दिन पनि तयार हुनुपर्ने लिखित सुझाव राखेका छलफलमा सहभागी एक सदस्यले बताए । ती सदस्यले दाहालको प्रस्तावमा समाजवादमा जाने सर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका कम्युनिस्टहरूसँग एकता गर्न पनि प्रधानमन्त्रीले राजीनामा दिएर एकता गर्न तयार हुनुपर्ने लिखित सुझाव पेस गरेको जनाए ।
‘नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशा दिनका लागि पार्टी अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला छ । फराकिलो कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउनुपर्छ । नयाँ विकसित रिम बनाउनुपर्छ । यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काइसौँ शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनुपर्छ,’ दाहालको लिखित सुझावमा छ ।
पार्टीभित्र भएका सबै अनियमितता रोक्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि दाहालले सुझावमा उल्लेख गरेका छन् । माओवादी पार्टी र आन्दोलन पुनर्गठनका लागि सरकार, सदन र सडकलाई एकीकृत र व्यवस्थित रूपमा लैजानुपर्ने पनि उल्लेख गरेका छलफलमा सहभागी ती सदस्यले जनाए ।
हिजोदेखि सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा आजबाट समूहगत छलफल जारी छ । दाहालले राखेको सुझावमा एकपटक मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई मन्त्रीमण्डलमा लैजानुपर्ने, नयाँ मन्त्रीहरूलाई गाइड गर्न अनुभवीहरूको संयन्त्र बनाउनुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै पार्टीभित्र प्रत्यक्ष निर्वाचनमा जानुपर्ने, अध्यक्षसहित सबै पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र सबै तहको निर्वाचन प्रत्यक्षरूपमा गर्नुपर्ने दाहालको प्रस्ताव छ । विधानको प्रस्तावनामा स्पष्ट भाषामा समाजवादी दर्शन र मूल्य मान्यतालाई उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।
दाहालले केन्द्रीय सदस्यहरूको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जान पनि सुझाव दिएका छन् । ‘यदि तत्काल सम्पत्ति पार्टीकरण गर्न सकिँदैन भने श्रीमती, परिवारका अन्य सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरूको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौँ । पार्टीलाई समाजवादीकरण दिशामा लैजान पहल गरौंँ,’ दाहालले दिएको सुझावमा उल्लेख छ । कमसेकम केन्द्रीय सदस्यहरूमा निजी सम्पत्ति त्यागको भावनाको विश्वास पैदा गर्न अत्यावश्यक रहेकोले त्यो कुरा विधानमा किटानीसाथ लेख्नुपर्ने उनको माग छ ।