काठमाडौँ / सरकारको नेतृत्वमा जानेहरु अवसरलाई कमाउने अन्तिम मौकाको रुपमा लिएर अपारदर्शी काम गरिरहेको सांसदहरुले आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारको नेतृत्वमा पुग्नेहरु अवसरको अन्तिम मौका यही हो भन्दै अनियमितता गर्न थालेको बताए।
सांसदहरुले पछिल्लो लुम्बिनीको रामग्राम क्षेत्रलाई भाडामा दिने सम्झौता उदाहरण भएको दाबी गरे। उनीहरुले अवसर पाएको बेलामा कमाउने मौकाका रुपमा लिएर अनैतिक र गैरकानूनी काम गर्दै आएको बताए। उनीहरुले राजनीतिक क्षेत्र र नेतृत्वमा देखिनुपर्ने सुधार कम नहुँदा यस्ता काण्डहरु दोहोरी रहने अवस्था भएको बताए।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले समग्र देशको परिस्थिति हेर्दा सामान्य स्थितिमा नभएको बताए। उनले राजनीतिक क्षेत्र र नेतृत्वमा रहेकाहरुमा सुधार आउनुपर्ने भए पनि सुधार हुन नसकेको बताए। उनले सरकारको नेतृत्व गर्न पाएको मौका छोड्नु हुन्न भन्ने मानसिकता नेतृत्वमा हाबी भएको दाबी गरे।
उनले अवसर पाएको बेला अन्तिम भोज चलाऔं भन्ने उद्देश्यले रामग्राम लिजमा दिने सम्झौता भएको बताए। उनले रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता नियत खराब राखेर भएको भन्दै तत्काल खारेज हुन आवश्यक रहेको बताए।
उनले सम्झौतापत्रको माथिल्लो मागबाहेक अन्य सबैतिर सम्झौता उल्लेख गरेर सांसदहरुलाई मूर्ख बनाउने काम गरिएको बताए। उनले सम्झौतामा पहिलो १० वर्ष १० प्रतिशत, ४० वर्षमा २० प्रतिशतले त्यो भन्दा माथि सबै ३० प्रतिशतका दरले आम्दानी बाँडफाँट गर्ने सम्झौता गरेको उल्लेख गरे। उनले कांग्रेस, एमाले र माओवादीलाई खुशी बनाउनयोग्य मान्छेलाई उपाध्यक्ष यो सरकारले यही बन्दोबस्त मिलाउन नियुक्त गरेको देखिएको बताए।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारको स्वीकृतिबिना लुम्बिनी विकास कोषले सम्झौता गरेर सरकारी जग्गा भाडामा दिने सम्झौता गर्नु कानूनविपरीत भएको बताए। उनले रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता नियत खराब देखिएको बताए।
उनले रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको विषयमा भएको सम्झौताले सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक निजी साझेदारी तथा लगानी २०७५ लाई उल्लङ्घन भएको बताए। उनले कल्पनाको आधारमा रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको विषयमा भएको सम्झौता भएको बताए। उनले जग्गा नै नभएको ठाउँमा एउटा व्यवसायिक कम्पनीलाई जग्गा भाडामा दिने र व्यवसायीक प्रतिफल लिने भनिएको बताए।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको विषयमा भएको सम्झौताको विषयमा पुरातत्व विभागको सहभागिताबिना हुन नसक्ने बताए। उनले अर्कोतिर आम्दानी र खर्चको स्पष्ट खाकासहित योजना बुझाउन अर्थ मन्त्रालयले भनिरहेको बेलामा सम्झौता हुनु गलत भएको बताए।
समितिमा सांसदहरुले रामग्राम क्षेत्र उत्खनन् तथा बौद्ध स्तुपा निर्माणको विषयमा भएको सम्झौताले गैरकानूनी भएकाले तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए।