काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियमसंगत भएको दाबी गरेकी छिन् ।
सर्ट लिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिका नाममा प्रश्न उठेपछि सोमबार बसेको संसदको शिक्षा समितिमा मन्त्री कुमारीले कसैकाविरुद्ध सिफारिस समितिमा उजुरी नपरेको बताइन् । पूर्वउपकुलपति तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ तर उनी सर्ट लिस्टमा परेका छन् । ‘पूर्वपदाधिकारी हुनुहुन्छ।
बौद्धिक चोरीको आरोप लाग्यो तर उहाँविरुद्ध उजुरी परेको छैन,’ उनले भनिन् । कार्यवाहक उपकुलपति शिवलाल भुसाललाई सूचना लुकाएको आरोप छ । तर, भुसालका विषयमा पनि उजुरी नपरेको मन्त्री कुमारीले बताइन् । ‘सूचना लुकाएको आरोप छ, जो निमित्त भिसी हुनुहुन्छ । सर्ट लिस्टमा पर्नुभएको छ तर उजुरी परेको छैन । सिफारिस समितिले प्रक्रिया अगाडि बढाएको छ । सबै काम कानुनसंगत भएका छन्, ‘ मन्त्री कुमारीले भनिन् ।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अहिले सर्च कमिटी नभई सिफारिस समिति रहेको बताए । ‘सर्च कमिटी होइन, अहिलेको सिफारिस समिति हो । समितिले एप्लिकेसन आह्वान गर्यो । प्रिजेन्टेसन भयो । मेरिटका आधारमा कुलपतिलाई सिफारिस गर्ने हो,’ उनले भने । सहकुलपति एवं शिक्षामन्त्री अशोक राईलाई समितिको बैठकमा बोलाइएको थियो । तर, मन्त्री राई बाहिर रहेको भन्दै समितिको बैठकमा राज्यमन्त्री कुमारी उपस्थित भएकी हुन् ।