काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले उक्त जानकारी दिएको हो।
विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो। समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको जनाए।
उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताए। उनले यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको जानकारी दिए।
उनले पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्ने गरी गएको बताए। महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको उल्लेख गरे।
उनले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताए। उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए। उनले भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको उल्लेख गरे।
अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको उनको भनाइ थियो। उनले अध्यागमन विधेयकलाई वर्तमान समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको जनाए।
नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उनको भनाए थियो। उनले अहिले देशमा १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गरे।
उनले अध्ययन भिसा, कामदार भिसा,रिटायरमेण्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसालगायत अन्य प्रकारका भिसाहरु थप्नु पर्ने अवस्था रहेको बताए। उनले १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएको जनाए।
उनले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निस्कासन गरिएको जानकारी दिए। सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्कासन गरिएको बताए। उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको जनाए।