काठमाडौं । विश्वकाे चर्चित खेल फुटबलमा थप अब अर्को नियम अर्थात कार्ड प्रयोगमा आउनेबारे बहस शुरु भएको छ।
हाल पहेँलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्नेबारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो ।
टेलिग्राफको रिपोर्टअनुसार निलो कार्डको ट्रायल छिट्टै हुने जनाइएको छ । रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिए पनि फिफाले भने यसको खण्डन गरेको छ ।
रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागू गर्ने दाबी गरिएको छ। ‘निलो कार्ड’ कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको जनाइएको छ।
तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ। फुटबलमा ‘ब्लू कार्ड’ को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरूमा भने प्रयोगमा रहेको छ ।
प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन्। रातो र पहेँलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ।
सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले प्रयोग गर्ने गरेका छन्। पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको जनाएको छ।


