काठमाडौं । सञ्चार तथा सूचन प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको जनाएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको उल्लेख गरिन्।
नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको जनाउँदै मन्त्री शर्माले कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको दाबी गरिन्।
उनले सूचना र प्रविधि क्षेत्रमा विकासको प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसात गर्दै आविष्कार र नवप्रवर्द्धनमा जोड दिनुपर्ने जनाउँदै रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।
मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ। नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ।
डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेका छौँ।’ मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानुन पछिपछि भइरहेको जनाइन्।