शुरोजंग पाण्डे काठमाडाैं
आन्दोलनमा जाने ओलीको घोषणा स् नयाँ समीकरण बनाउन वा मध्यावधि निर्वाचनका लागि ?
-गठबन्धन भत्काएर ध्रुवीकरणमार्फत नयाँ राजनीतिक कोर्स निर्माणको प्रयासमा रहेको एमाले सदन र सडक दुवैतिरबाट दबाब बनाउने रणनीतिमा, आन्दोलनको वार्मअपका लागि आज अध्यक्ष ओलीको नेतृत्वमा एमालेले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
-ओली कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर सम्पर्कमा
– रास्वपाका अध्यक्ष रवि लामिछानेसँग ओलीको भेटवार्ता
गठबन्धन सरकारले एकवर्षे कार्यकाल पूरा गरेलगत्तै प्रमुख विपक्षी एमालेले नयाँ सरकारको विकल्प खोजी गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । सत्तारूढ गठबन्धन भत्काएर अर्को सरकार बनाउने प्रयासका लागि एमालेले आन्दोलन घोषणा गर्ने तयारी गरेको हो ।
गठबन्धन टुटाउन नसके मुलुकलाई मध्यवधितिर लैजाने एमालेको अर्को योजना छ । अध्यक्ष केपी ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् ।
आन्दोलन गर्ने चेतावनीलाई एमाले नेताहरूले राजनीतिक ध्रुवीकरण र नयाँ ‘राजनीतिक कोर्स’ निर्माणका लागि गरिने प्रयासका रूपमा प्रस्ट्याएका छन् । अध्यक्ष केपी ओलीले एक सातायता सार्वजनिक कार्यक्रममार्फत लगातार सरकारको विकल्प खोज्नका लागि आन्दोलन गर्ने घोषणा गर्दै आएका छन् ।
अर्कोतर्फ एमालेले सम्भावित कदमका लागि पार्टीपंक्तिलाई आन्तरिक रूपमा ‘वार्मअप’ गराउन सुरु गरेको छ । तर, आन्दोलनको स्वरूप, चरण र कार्यक्रम भने एमालेले बाहिर ल्याइसकेको छैन । ओलीले सरकार असफल भइसकेकाले मिसन ०८४ भनेर एमालेले नकुर्ने भन्दै मध्यावधिको समेत संकेत गर्दै आएका छन् ।
स्थायी समिति सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले १५ माघभित्र बस्ने केन्द्रीय सचिवालय बैठकले आन्दोलनको एजेन्डा पास गरेपछि तयारीको चरण अगाडि बढ्ने बताए । ‘सचिवालयले कार्यसूची बनाएपछि केन्द्रीय कमिटीको बैठकको मिति तय हुन्छ, त्यो बैठकले नै आन्दोलनको व्यवस्थित कार्ययोजना पास गरेपछि माघभित्रै कार्यक्रम घोषणा हुन्छ,’ गौतमले नयाँ पत्रिकासँग भने, ‘सरकारको असफलताले मुलुक अराजकता र अनिश्चयको दिशातिर अगाडि बढेको मात्रै छैन, कतिपय कोणबाट लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठिरहेका कारण हामी संसद् र सडक दुवैतिरबाट ध्यानाकर्षण गराउने गरी अघि बढ्दै छौँ ।’
एकवर्षे कार्यकालको समीक्षा गर्दै एमालेले सरकारले सुशासन दिन नसकेको, विकास बजेट काटिँदा विकासको काम ठप्प भएको, अर्थतन्त्र संकटको दिशातिर गएको र सेवाप्रवाहमा असफल भएकाले गठबन्धन भत्किनुपर्ने निष्कर्ष निकालेको छ । सरकारको कामका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलन गर्ने परिस्थिति निर्माण भएको उसको बुझाइ छ ।
गठबन्धन भत्काउन एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारीमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि छुट्टाछुट्टै प्रस्ताव राखेको थियो । संक्रमणकालीन न्याय टुंगो लगाउन एमालेको साथ खोजेका प्रधानमन्त्री प्रचण्ड गठबन्धनको दबाबमा पछि हटेपछि एमाले–माओवादी सहकार्यको सम्भावना टरेको थियो ।
एमालेले गठबन्धन भत्काएर नयाँ कोर्स सुरु गर्नकै लागि आन्दोलन सुरु गर्न लागेको प्रस्ट पारेको छ । ‘अहिले गठबन्धनभित्र संकट छ, जति दिन यो गठबन्धन रहन्छ, देशमा त्यति नै धेरै राष्ट्रिय संकट निम्तिन्छ, त्यसैले यो गठबन्धन भत्काउनु, टुटाउनु, कमजोर बनाउनु, नयाँ गठबन्धन बनाउनु प्रतिपक्षको धर्म नै हो,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘त्यसैले हाम्रो अहिलेको ध्येय सत्तारुढ गठबन्धन भत्काउने र नेपाली राजनीतिलाई नयाँ कोर्सबाट समाजवादी यात्रामा लैजाने नै हो ।’
गबठन्धनको प्रमुख खेलाडी कांग्रेस सभापति देउवाको रोडम्यापअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेसम्म गठबन्धन नटुट्ने बुझाइ भए पनि पछिल्ला दिनमा गठबन्धनभित्र संकट सुरु भएको एमालेको बुझाइ छ । जसपा र जनमत पार्टीबीचको टकराव, नेकपा एसको असन्तुष्टि, कांग्रेसभित्र देउवा र शेखर कोइराला समूहबीचको असन्तुष्टि, माओवादीभित्र मन्त्री हेरफेरका लागि बढिरहेको दबाबले गर्दा कुनै पनि वेला नयाँ गठबन्धन बन्न सक्ने कुरालाई एमालेले नजिकबाट नियालेको छ ।
त्यसअनुसार अध्यक्ष ओली कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर सम्पर्कमा छन् । यसैबीचमा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग भेटवार्ता गरेका छन् भने उपाध्यक्ष विष्णु पौडेलसँग माओवादी नेताहरू वर्षमान पुन, जनार्दन शर्मालगायत पनि निरन्तर सम्पर्कमा छन् ।
गठबन्धन टुटाउन नसके मुलुकलाई मध्यवधितिर लैजाने एमालेको अर्को योजना छ । अध्यक्ष ओलीले पनि जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् ।
‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर।।। तर लोभीपापीहरू नभत्किन सक्छन्,’ ओलीले भनेका छन्, ‘यिनीहरू सबैको घाँटी, शरीर एकैठाउँ जोडिएको छ । यी एकै भ्रष्टचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले, हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ ।’
उनले केही दिनकै तयारीमा निर्णायक लडाइँका लागि पार्टीले आन्दोलनको आह्वान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई निर्देशन दिए । ‘आन्दोलनका निम्ति पार्टीले जति वेला सिठी बजाउँछ, त्यति वेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । तीन दिनको छोटो तयारीमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ,’ ओलीले भने, ‘उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् ।’
मंगलबार प्रधानमन्त्री प्रचण्डलाई ओलीको ज्ञापनपत्र
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरू सम्मिलित टोलीले मंगलबार प्रचण्डलाई भेटेर जनताको समस्या र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउन लागेको हो । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा जनस्तरबाट आएका सुझाव, माग र समस्या समेटेर ध्यानाकर्षण बुझाएर सातवटै प्रदेशमा सभा गरेर पूरा गर्न अल्टिमेटम दिने र जनदबाब बढाएर आन्दोलन नै गर्ने एमालेको तयारी छ । अभियान समापनपछि पत्रकार सम्मेलन गरेर एमालेले जनताको माग र समस्या सम्बोधनका लागि आन्दोलनमा जानसमेत तयार रहेको प्रस्ट्याएको थियो ।
मिसन ०८४ भनेर पर्खिने अवस्था नहुन सक्छ : ओली
४ माघमा नेपाल खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए स्
देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ रु उस्तै परे हामीले गठबन्धन भत्काएर।।। तर लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ । यी एकै भ्रष्टचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले, हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ । आन्दोलनका निम्ति पार्टीले जति वेला सिठी बजाउँछ, त्यति वेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तयारीमा आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ । उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन् । नयाँ पत्रिकाबाट