हेटौँडा । तराईका विभिन्न जिल्लामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पूजाआजा गरेका छन्।
त्यस क्रममा उनलाई सर्वसाधारणले स्वागत गरेका थिए। उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न ठाउँमा स्वागतद्वार बनाएको थियो। बारा हुँदै हेटौँडा आएका पूर्वराजा शाहले चुरियामाईको दर्शन गरेका थिए। त्यस्तै उनले हेटौँडा बजारमा रहेको गुम्बा तथा भुटनदेवी मन्दिरमा पनि पूजाआजा गरेका थिए।
यसपछि पूर्वराजाले हेटौँडा रिसोर्टमा पुगी राप्रपाका नेता तथा कार्यकर्तालगायत सर्वसाधारणहरुसँग पनि भेट गरेका थिए।
पूर्वराजाको हेटौँडामा स्वागत गर्न सांसद दीपकबहादुर सिंह नेतृत्वमा १ हजार ११ सदस्यीय समिति बनाइएको थियो।
यसैबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा ‘राजा ज्ञानेन्द्र’ लेखिएको ब्यानर हटाई पूर्वराजा बनाइएको थियो।


