काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विश्वभरका मानिसहरुले नेपालको पर्यटन प्रवद्र्धनको बारेमा पढन पाउने भएकाले पर्यटन विश्वविद्यालय निर्माण गर्ने तयारी गरेको जनाएका छन् ।
उनले नेपालमा टुरिजमको सम्भावना धेरै भएको कारण पर्यटन विश्वविद्यालयको निर्माण गर्न खोजेको जनाए। मन्त्री किराँतीले भने, ‘ निकट भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने योजना छ ।’ उनले सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा पनि उल्लेख भएको कुरालाई कार्यान्वयन गर्ने जनाए ।
भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने अर्को नीति भएको र त्यसका लागि ऐन मस्यौदा बन्दै गरेको पनि उनले जनाए । विश्वमा नै दक्ष जनशक्तिको कमी हुँदै गएको बेला नेपालमा पनि दक्ष जनशक्तिको कमी भएको उनले भनाइ छ । ३५ लाख पर्यटक १० वर्षभित्र ल्याउने याेजना छ । त्यसका लागि गाइड, बाटो निर्माण, होटललगायतका क्षेत्रमा तालिमप्राप्त दक्ष जनशक्ति चाहिने भएको हुँदा त्यसैकै लागि पर्यटन विश्वविद्यालय निर्माण गर्न लागेको मन्त्री किराँतीले जनाए ।