काठमाडौँ / नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछाडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन्।
काठमाडौंमा शुक्रबार नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा उनले नियामक निकायको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए।
काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताए।
बजारमा कुनै पनि कुरा सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए।
उनले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्न सक्ने गरी सम्पूर्ण तथ्यांक राख्नुपर्ने बताए। अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसाय हितका लागि नीति केन्द्रित हुनुपर्नेमा जोड दिए।