सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा चिसाेका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ ।
अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीकाे आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुको विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानी समेत जमेर ढिक्का जस्तै बन्ने गरेको छ ।
यो क्षेत्रको तापक्रम घटेर माइनस १३ डिग्री सेल्सियससम्म झर्ने गरेको इलाका प्रसाशन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले बताउनुभयो । अहिले सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत बिहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ । धारा तथा पाइपको पानी जम्दा दैनिकी कष्टकर बनेको स्थानीय बासिन्दाले बताएका छन् । सडकमा तुसाराे जमेकाे हुँदा दुर्घटनाको जोखिम बढेकाे छ ।