बारा । सिम्रौनगढ नगरपालिका-६ स्थित सिम्रौनगढ नगरपालिकाको कार्यालयमा बुधबार ढुंगामुढा हुँदा घाइते भएका सोही नगरपालिका-१ रामसागराघाट बस्ने २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त नगरपालिकाका करारका कर्मचारीहरू समेतका केही व्यक्तिहरूले ढुङ्गामुढा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडीको सिसा र नगरपालिका कार्यालयको झ्यालका सिसाहरू फुटाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ लगायतका युनिटहरूबाट प्रहरी टोली खटी गएको थियो । उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा आक्रोसित भिडले एक्कासि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षकसहित १४ जना घाइते भएपछि प्रहरीको तर्फबाट स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत भएको थियो ।
सो क्रममा घाइते भएका मुखियाको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो भने घाइते प्रहरी कर्मचारीहरू कलैया अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।