काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबा आमासँग भेटेका छन्।
प्रचण्डले विपिन जोशीका बुबा आमासँग शुक्रबार बिहान कैलालीको धनगढी विमानस्थलमा भेटेका हुन्।
कञ्चनपुरका जोशी असोज २० गतेदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा छन्। हमास समूहको आक्रमणमा असोज २० मा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता थिए। उनको रिहाइको लागि परराष्ट्रमन्त्री एनपी राउदले कतार सरकारसँग पटक-पटक आग्रह गरेका छन्।
प्रचण्ड कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न शुक्रबार बिहान धनगढी गएका छन्।
यस्तै, प्रचण्ड कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन्।