काठमाडाैं । युइएफए युरोकप २०२४ को ड्र शनिबार सार्वजनिक गरिएको छ। अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि ह्यामवर्ग सहरमा गरिएको ड्रअनुसार पहिलो खेल आयोजक जर्मनी र स्कटल्यान्डबीच हुने छ।
समूह ‘ए’ अन्तर्गत जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा १४ जुन २०२४ मा पहिलो खेल हुने छ। इंग्ल्यान्डले भने आफ्नो पहिलो खेलमा १६ जुनमा सर्वियासँग प्रतिस्पर्धा गर्ने छ।
इंग्ल्यान्ड २०२० को युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको थियो। युरो २०२४ को फाइनल भने १४ जुलाईमा बर्लिनस्थित ओलम्पियास स्टेडियममा हुने छ।
प्रतियोगिताका लागि छनोट भएका २४ टोलीलाई छनोटमा गरेको प्रदर्शनका आधारमा चारवटा पटमा विभाजन गरी टोली विभाजन गरिएको थियो। हरेक पटबाट एक टोली गरी ४ टोली एक समूहमा राखिएको छ।
जर्मनी आयोजक भएका कारण छनोट खेलेको थिएन। जर्मनीले समूह ‘ए’ मा आफ्नो स्थान बनाइसकेको थियो। त्यसबाहेक अरू टोलीका लागि भएको ड्रबाट आफ्नो समूह र समूहमा रहेका टोलीको टुंगो लागेको हो।
अब युरोकपमा सहभागी हुने बाँकी तीन टोलीको तय भने ‘नेसन्स लिग प्लेअफ’बाट हुने छ।
६ समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्ने छन्।
यस्तो छ समूह:
समूह ए: जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड
समूह बि: स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सि: स्लोभेनिया, डेनमार्क, सर्विया, इंग्ल्याण्ड
समूह डी: नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स, प्लेअफ विजेता ‘ए’
समूह ई: बेल्जियम, स्लोभाकिया, रोमानिया, प्लेअफ विजेता ‘बी’
समूह एफ: टर्की, पोर्चुगल, चेक रिपब्ली, प्लेअफ विजेता ‘सी’
प्ले अफ विजेता ए: पोल्यान्ड, वेल्स, फिनल्यान्ड, स्टोनिया
प्लेअफ विजेता ‘बी’: इजरायल, बोस्नीया-हर्ज गोभिना, युक्रेन, आइसल्यान्ड
प्लेअफ विजेता ‘सी’: जर्जीया, ग्रिस, काजाकस्तान, लक्जम्बर्ग