काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ ।
७५ वर्षीय थापाको बिहीबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । कुलेश्वरस्थित घरमै ढलेका थापालाई परिवारले मेडिसिटी अस्पताल पुर्याएका थिए, तर चिकित्सकले मृत घोषणा गरेका छन् ।
सन् १९७१ मा जापानमा भएको यू-१९ एसियन च्याम्पियनसिपमा नेपाली टिममा रहेका उनले न्यूरोड टीम (एनआरटी), महावीर क्लबलगायतबाट खेलेका थिए । एन्फामा सहमहासचिव र टेक्निकल डाइरेक्टर भएका उनले नै एन्फा एकेडेमीको एक्सन प्लान बनाएका थिए ।