काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताए।
उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम सुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताए। दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे।
उनले दुई किस्तामा दिइने भए पनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे।
उनले भने, ‘५० हजार नै एकैचोटी दिनु किन नहुने? त्यसो गर्दा अलि सरल हुन्थ्यो कि भन्ने छ। त्यसमा हाम्रो सानो कुराले गर्दाखेरी हामीले नगरेको। तर हामीले एकैचोटी दिने जस्तै–जस्तै गरेका छौँ। एकैचोटी जस्ता त राख्दैनौँ नि। घर बनाउने अलिकति मेसो, केही न केही घर बनाउन लागेकोजस्तो देखियो भने एक दिनमा हामी जुन पहिला २५ हजार दिन्छौँ। भोलि, पर्सिपल्ट नै माग्यो भने अर्को २५ हजार दिइहाल्छौँ। घर बनाउन थाल्यो, अस्थायी आवास भन्ने केही त देखौँ भन्ने एउटा कुरा।’
गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताए। उनले पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने उल्लेख गरे।