रुकुम पश्चिम / चिसोका कारण रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको ज्यान गएको छ । आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका-११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।
स्थानीय गोपाल केसीका अनुसार दुवै जनाको चिसोका कारण ज्यान गएको हो । भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो पनि दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको केसीले जनाए ।
यस्तै पेट र दमका बिरामी मगरको सोमबार राति ९ बजेतिर ज्यान गएको स्थानीय दिपक बाह्रघरेले जानकारी दिएका छन् । भूकम्पपछि उनी पनि परिवारसँगै पालमुनी बसिरहेका थिए ।
दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ । आठविसकोट-१४ स्थित घेत्मा स्वास्थ्यचौकी प्रमुख देवबहादुर चन्दले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउने सर्वसाधारणको संख्या दिनानुदिन बढिरहेको बताए । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिकमा विभिन्न समस्या देखा परिरहेको छ,’ उनले भने, ‘महिलामा पनि गर्भवती तथा सुत्केरी र ज्येष्ठ नागरिकमा समस्या बढ्दो छ । साथै दिर्घरोगीहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ ।’