काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा सोमबार दुई नवप्रवेशी टोली प्रतिस्पर्धा गर्दैछन्। सोमबार दुइ पुर्वेली क्लब एक अर्काविरुद्ध भिड्दै छन्।
झापा एफसीले आफ्नो पहिलो खेल खेल्दा स्पोर्टिङ इलाम भने दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग आफ्नो पहिलो खेल खेलेको थियो। पहिलो खेलमा १-० ले पराजित भएको इलाम दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा रहेको छ।
राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्ट झापाको मार्की खेलाडीका रुपमा रहँदा उनी आफ्नो पहिलो खेलमानै उम्दा छाप छोड्ने प्रयासमा रहेका छन्। गत संस्करण ललितपुर सिटी एफसीबाट कप्तानी गरेका उनले यो पटक झापाबाट प्रतिस्पर्धा गर्दैछन्।
झापाको टिममा अनञ्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लाकेन लिम्बु लगायत स्टार खेलाडी रहेकाले झापा बलियो मानिएको छ। राष्ट्रिय टिमबाट खेलिसकेका अर्का खेलाडी आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा अनुबन्धित छन्। झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो रहेका छन्। झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ। जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन्। त्यसैले झापा यो पटक विदेशी प्रशिक्षक र खेलाडी सँगै नेपाली स्टारको बलमा उपाधि सम्म पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ।
झापाको अन्य विदेशी खेलाडीमा सर्वियाका गोलरक्षक स्टेफन क्युपिक, उज्वेकिस्तानका डिफेण्डर समादार ओचिलोभ र अमेरिकन धिरज थजाली मगर छन्।
मेघराज केसीको प्रशिक्षणमा रहेको इलाम भने दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौतीमा रहेको छ। इलाममा विकेश कुथु मार्की खेलाडीका रुपमा रहँदा उनीसँगै आशिष गुरुङ, विमल पाण्डे र आशिष राई रहेका छन्। इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा रहेपनि पहिलो खेलमा उनीहरूको प्रभावकारी उपस्थिति देखिएन।
विदेशी खेलाडीको गतिलो साथ पाउने अपेक्षामा रहेको इलाममा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु फोडे कमारा, अब्दोउलाए बा, अमाथ एनड र इब्राहिम डीजेटे लगाय रहेका छन्।