—लोकनारायण सुबेदी
महिला तथा बालबालिकामाथिकाे निरन्तर कुनै न कुनै किसिमले लैंगिक हिंसा बिश्वभरी नै जारी छ । यसकाे मूलमा आर्थक असमानता र पुरूष प्रधानता रहेकाे छ । यतिबेला बिशेषा गरी कोरोना काल पश्रचात बिश्वको आधा जनसंख्या महिलाहरू अधिकांशतः रोजगारबिहीन हुन पुगेका हुन् । हुन पनि कोरोना भाइरसका कारण बिश्व स्तरमा कामकाजी महिलाहरुको स्थिति अझ खराब हुन पुगेको बिश्व तथ्यांकले दर्शाएको हो । नोकरी या रोजगारीमा उनीहरुो हिस्सेदारी अझ तीब्र गतिमा घट्न गएको पाइएको छ । यो गम्भीर महत्वको यथार्थ कुरा ३ बर्ष संयुक्त राष्ट्र संघले आफ्नो प्रतिबेदन ‘वर्ल्ड वोमन २०२०’ मा प्रष्ट पारेको हो । त्यस प्रतिबेदनले दुइटा तथ्यमाथि बिशेष प्रकाश पारेको देखिएको थिया । पहिलो कुरा त के भने बितेको दशकमा पनि श्रम शक्तिमा महिलाहरुको सहभागिता कम नै रहेको हो र दोश्रो कुरा आज कोरोना महामारीका कारणले समेत काममा महिलाहरुको हिस्सेदारी र पकड अझ कम भएर गएको छ ।
निश्चय नै कुनै पनि समाजको आर्थिक सुदृढीकरणले त्यस माजका मानिसहरुको सशक्तिकरणको मार्ग प्रशस्त गर्दछ । अनि त्यसले ब्यक्तिको निर्णय क्षमता र आत्मबललाई पनि प्रभावित तुल्याउँदछ । त्यसमा पनि यदि महिलाहरु आर्थिकरुपले सशक्त हुन्छन् भने निश्चय पनि तिनको परिबार र समाजमा भूमिका र हैसियत अझ बढ्न जान्छ । तर यो कुरा पितृसत्तात्मक पुरुष-प्रधान समाजलाई स्वीकार हुँदैन । हुन पनि यो समस्या आज एकाएक उत्पन्न भएको समस्या होइन । बिश्व समाजको सभ्यताका पाना पल्टाएर हेर्दा के कुरा स्पष्ट देखिन्छ भने मानब सभ्यताको आरम्भदेखि नै श्रम बिभाजनका रेखा समयसँगसँगै अझ गाढा हुँदै र गहिरिदै आए, जसमा महिलाहरुको हिस्सामा ‘घरको काम’ पर्न थाल्यो भने पुरुषका हिस्समा धन आर्जन गर्ने काम पर्न थाल्यो । निश्चय नै आर्थिक सबलताले प्रभुत्वको भाव पैदा गर्न थाल्दछ । अनि यसलाई पुरुषसत्तात्मक ब्यबस्थाले कुनै पनि हालतमा छोडन तयार हुँदैन । यही नै समस्याको जड पनि हो ।
यद्यपि सभ्यताको बिकास, मानब अधिकारका वकालत र ती सबैभन्दा माथि स्वयं महिलाहरुको संघर्षशीलताले यस्तो पुरुष बर्चश्वबादी सोचलाई परिबर्तन नै नगरे पनि एउटा धूमिल धूमिल किसिमले अघि बढ्ने बाटो महिलाहरुका लागि पनि खोल्न बाध्य बनायो । जसले गर्दा घरबाट बाहिर निस्केर महिलाहरु पनि कामको मूख्य धारामा जोडिन थाले ।तर पनि उनीहरुको अगाडि के स्पष्ट शर्त थियो भने बाहिरको काम गर्दैमा उनीहरुलाई घरको कामबाट मुक्ति मिल्ने छैन ।
बिश्वका सबै देशका महिलाहरुले यस शर्तलाई प्रकट अप्रकटरुपमा स्वीकार गरे पनि । तर उनीहरुका चूनौतिहरु कम भएनन् । असमान तलब र शोषणको सामना गर्दै गर्दै महिलाहरुले आज आफ्ना कार्य क्षेत्रहरुमा निकै राम्रो क्षमता, दक्षता, शीप र कौशलताको प्रदर्शन पनि गरिरहेका छन् । यो कुरा जान्दाजान्दै कि उनीहरुको हरेक सफलताको पछाडि उनीहरुको कर्मठताका साटो उनीहरुको चारित्रिक बिश्लेषण गरेर उनीहरुको मनोबल तोड्ने लगातार प्रयत्न हुँदै आएको छ ।
अझ बिडम्बना र बिद्रूपता त के छ भने जतिबेला पनि उनीहरुको आवश्यकता हुन्छ उनीहरुलाई श्रम बजारमा धकेलिने गरिन्छ । उनीहरु श्रम बजारमा न्यून ज्यालामा काम गर्न एकातिर बिवश छन् भने अर्कोतिर उनीहरुले काम पाउने सम्भावना पनि न्यून नै रहेको छ । अर्थात समाज महिला–मैत्री छैन । आज त १५ बर्षमाथिको काम गर्न सक्ने क्षमता भएका महिलाहरुको ठूलो संख्या बिश्वब्यापीरुपमा बेरोजगार बनेको छ र यो स्थिति अझ बढ्दै जाने देखिएकोछ । एउटा तथ्यांकका अनुसार काम गर्ने उमेरका हरेक चारजना महिलामा तीनजना आज बिश्वमा बेरोजगार रहेका छन् ।
हुन त बिश्वमा आज ७० प्रतिशत महिलाहरु कोरोना योद्धाकारुपमा काम गरिरहेका छन् । यसरी चूनौतिपूर्ण किसिमले काम गर्दा गर्दै पनि अन्य सेवाहरुबाट उनीहरुलाई निष्काशन गरिदैछ । यस्तो स्थिति पहिलो पटक उत्पन्न भएको भने होइन । दशकौं पहिला पनि पहिलो बिश्व युद्धमा जब पुरुषहरु युद्धका निमित्त जानु पर्ने भयो त्यति बेला श्रम शक्ति अर्थात कार्यबलमा महिलाहरुलाई कृषि उद्योग आदि क्षेत्रमा स्थान दिनु पर्ने भयो । त्यतिबेला हतियार कारखानमा पनि महिलाहरुलाई काम दिइएको थियो ।
त्यतिबेला अष्ट्रेलियामा मात्र एक लाख महिलाहरुलाई काम दिइएको तथ्यांक छ । तर पहिलो बिश्व युद्ध समाप्त हुँदै हुँदै जान थालेपछि महिलाहरुलाई पुनः आफ्नो पुरानै तथाकथित मूल कार्य(घरधन्धा)मै फर्किन बाध्य तुल्याइयो । ठीक यस्तै प्रकारको स्थिति दोश्रो बिश्व युद्ध पछि पनि उपस्थित भएको थियो । स्पष्ट छ – महिलाहरुप्रतिको ब्यवहार ‘काम चलुञ्जेल भाँडो, काम सकिएपछि ठाँडो’ जस्तै भइरहेको छ ।
एकजना अमेरिकी लेखिका बेट्टी फ्रीडनले ‘दि फेमिनिन मिस्टेक’ मा लेखेकी छन् – दोश्रो बिश्व युद्ध पछि अमेरिकी समाजमा महिलाहरुको स्थिति त्यत्तिका सन्तोषजनक थिएन । उनीहरुलाई एनकेन प्रकारेण यो बिश्वास दिलाउन कोशिश गरिदै आएको थियो कि घरको चार किल्लाभित्रै उनीहरुको सारा जीवनका सारा सुखहरु बिद्यमान रहेका छन् ।
बस्तुतः यसरी स्पष्ट छ कि समाजमा सोच या दृष्टिकोण महिलाहरुको रोजगारी बिरुद्ध छ । प्रायः हरेक जसो देश र समाजमा जब अर्थतन्त्रको चालुरहेको सन्तुलन युद्ध, महामारी, प्राकृतिक प्रकोप आदि कुनै कारणले टुट्दछ त्यतिबेला रोजगारी कम उपलब्ध हुनजान्छ । अनि त्यतिबेला पुरुषले काम पाए या पाइरहेको काममा राखिरहे पनि महिलाहरुलाई सहजै त्यसबाट बिस्थापित गर्ने गरिन्छ । अर्थात् उनीहरुको रोजगारी खोसिन्छ ।आज पनि बिश्वभरी नै यो भावना गहिरो गरी बसेको छ कि पुरुष रोजगारी या नोकरीका लागि अधिक हकदार हो र कुनैकिसिमले आर्थिक संकट आउदा र रोजगारी कम हुँदा पनि पुरुषलाई नै रोजगारी या नोकरी मिल्नु पर्दछ । यस्तो सोचाई नबद्लिएसम्म र बिश्वको आधा जनसंख्या अर्थात महिलाहरुलाई हरेक किसिमले खाशगरी रोजगारी या नोकरीको क्षेत्रमा पछाडि धकेल्ने या निष्काशन गर्ने परिपाटी रहे या राखिएसम्म बिश्वको चौतर्फी बिकासले पूर्णता पाउँदैन । यसले घरेलु तथा सबै प्रकारका लैंगिक तथा सामािजक हिंसामा मलजल गर्दछ । यो अहिलेकाे बिज्ञान र प्रबिधिको अत्याधिक बिकास भएको २१औं शताब्दीमा अत्यन्तै महत्वपूर्ण, क्रूर र गम्भीर यथार्थ हो । महिलाहरूको समुन्नति चाहने सबै पक्षले यस बारे सार्थक, अग्रगामी र समुन्नत दृष्टिकाेणले ब्यबहारिक कदम चाल्न अग्रसर हुनै पर्दछ । अन्यथा १६ दिने याे अभयान एउटा बर्षेनी गरिलने पूजा पाठ सीवाय अरू केही ठहरिदैन ।