काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमलगायत देशका अधिकांश भूभागमा चिसो बढेको छ।
यसको प्रभावले सोमबारसम्म बादलको मात्रा बढ्ने, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको मात्रा बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागमा आगामी सोमबारबाट पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यस्तै तराईका भूभाग र काठमाडौं उपत्यकामा शुक्रबारको तुलनामा बिहानैदेखि हुस्सुको मात्रा बढेको छ। बिहान १०, ११ बजेपछि भने बादल हट्दै जाने मौसमविद् अधिकारीले बताए।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।