वीरगञ्ज – मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित १० जना कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कार्यालयमा उठेको राजश्व हिनामिना गरेको आरोपसहित उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको अख्तियारका सहप्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम दाखिला नगरी हिनामिना गरेको उजुरीको छानबिन हुँदा भ्रष्टाचार भएको पुष्टि भएपछि कार्यालयका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थपलियाले बताए।
उनका अनुसार तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ३५ लाख ४५ हजार ९५० रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।
यस्तै, तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याललाई १६ लाख ८१ हजार ६००, चन्द्रबहादुर भण्डारीलाई २ करोड ४४ लाख ४६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीलाई एक करोड ४१ लाख ४७ हजार १७१ जरिवाना गर्न मागदाबी गरिएको छ।
यस्तै, तत्कालीन नायब सुब्बा किरण प्रसाद उपाध्यायलाई ५ करोड ५५ लाख १९ हजार ९७५ दामासाहीले असुलउपर गर्ने मागदाबी लिइएकोमा उपाध्याय र उनकी श्रीमतीको पनि मृत्यु भइसकेकोले उनीहरुको छोराहरु राजकिशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग जरिवानाबापतको रकम असुल उपर गर्न माग गरिएको छ।


